काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति र प्रमुख दलका सचेतकहरूलाई छलफलका लागि बोलाउनुभएकाे छ ।
सभामुख घिमिरेले दफावार छलफलका लागि विधेयक रहेका समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकहरुलाई बिहान साढे ११ बजे छलफलका लागि बाेलाउनुभएकाे सभामुखकाे सचिवालयले जनाएकाे छ ।
संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई बोलाउनुभएको हो । अधिवेशन नभएको अवस्थामा सांसदहरु बाहिर हुने र समितिको कोरम पुर्याउन समेत कठिन भएको गुनासो सभापतिहरूले गर्दै आएका छन् ।
बैठकमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको छ ।
राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिमा दवाफार छलफलका लागि विभिन्न विधेयकहरु छन् ।
