काठमाडाैं । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल तथा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको संसदीय सुनुवाइ कात्तिक १४ गते हुने भएको छ ।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले राजदूत लम्साल तथा न्यायाधीशद्वय निरौला र पाण्डेको सुनुवाई कात्तिक १२ गते एकैदिन गर्नेगरी सचिवालयले तयार पारेको प्रस्ताव पारित गरेको हाे ।
सचिवालयले तयार गरेकाे प्रस्तावसहितको कार्ययोजना समितिको बैठकले परिमार्जनसहित पारित गरेको ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिनुभयाे । 'सर्वोच्च अदालतका न्यायाधीश पदमा प्रस्तावित व्यक्तिको सम्बन्धमा उजुरीकर्तालाई समिति समक्ष उपस्थित गराई उजुरीको पुष्टयाई र औचित्यतता प्रष्ट गर्न लगाउने, बेल्जियमका लागि नेपाली राजदूत र सर्वोच्च अदालतका न्यायाधीश पदमा प्रस्तावित व्यक्तिहरूलाई समितिमा आमन्त्रण गरी छलफल गर्ने लगायत कार्य गरी सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने विषयका सम्बन्धमा संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जन समिति पारित गरिदिनुहुन अनुराेध गर्दछु, कार्यतालिका परिमार्जनसहित पारित भएकाे घाेषणा गर्दछु'- उहाँले भन्नुभयाे ।
समितिको अर्को बैठक कात्तिक १४ गते बिहान ८ बजे बस्ने जबराले जानकारी दिनुभयाे ।
