काठमाडौं । सभामुख देवराज घिमिरे र कम्बोडियाकाे राष्ट्रिय सभामा अध्यक्ष सम्देच मोहा रथसपिथिका थिपादेई खुऔन सुदारीबीच भेटवार्ता भएकाे छ ।
सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन ५ दिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख घिमिरे र कम्बाेडियाकाे राष्ट्रिय सभाका अध्यक्ष सुदारीबीच शनिबार साँझ भेटवार्ता भएकाे हाे । भेटटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदानप्रदानलगायत विषयमा छलफल भएको सभामुखकाे सचिवालयले जनाएकाे छ ।
भेटमा सभामुखले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औँ पूर्ण सत्रको आयोजना गरी आमन्त्रण गरेकामा धन्यवाद दिनुभएको थियो । सभामुख घिमिरेले भेटमा नेपालको शान्ति प्रक्रियासँगै समावेशी र प्रगतिशील संरचना निर्माण भएको बताउनुभएको थियो । नेपालमा सन् २००६ मा भएको विस्तृत शान्ति सम्झौताले स्थायित्व ल्याउनुका साथै संविधानसभाबाट संघीयतासहितको समावेशी र प्रगतिशील संरचना बनाउन महत्वपूर्ण योगदान पुर्याएको उहाँले बताउनुभयाे ।
नेपालको शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र संसद्बाट हालै संक्रमणकालीन न्यायसम्बन्धी कानुन पारित गरेको भन्दै सभामुख घिमिरेलाई कम्बोडियन संसद्ले 'गार्ड अफ अनर' दिएको छ ।
