काठमाडाैं । सभामुख देवराज घिमिरे कम्बाेडिया भ्रमण पूरा गरेर स्वदेश फर्किनुभएकाे छ ।
कम्बोडियाको राजधानी नोम पेन्हमा आयोजना भएकाे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को ११ औं पूर्ण सत्रमा सहभागी भएर सभामुख घिमिरे मंगलबार राति स्वदेश फर्किनुभएकाे हाे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफ्नाे भ्रमण सफल भएकाे बताउनुभयाे ।
सभामुख घिमिरेले मंसिर ८ देखि ११ गतेसम्म चलेकाे सम्मेलनकाे पूर्ण सत्रलाई सम्बाेधन गर्नुभएकाे थियाे । त्यसक्रममा उहाँले नेपालले शान्ति प्रक्रियामा गरेको प्रगति अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुभएकाे थियाे ।
कम्बाेडियामा रहँदा सभामुख घिमिरेले त्यहाँका प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष लगायतसँग भेटवार्ता गर्नुभएकाे थियाे । संसद्बाट टीआरसी विधेयक पारित गराएकाे भन्दै कम्बाेडियाकाे संसद्ले सभामुख घिमिरेलाई गार्ड अफ अनर प्रदान गरेकाे थियाे ।
५ सदस्यीय संसदीय प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै उहाँ मंसिर ७ गते त्यसतर्फ प्रस्थान गर्नुभएकाे थियाे ।
