काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यपालिका र व्यवस्थापिकाबीचको सम्बन्ध राम्रो नहुँदा संसद् प्रभावकारी हुन नसकेको बताउनुभएकाे छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले कार्यपालिका र व्यवस्थापिकाले एक अर्कालाई छल्न खोज्ने हो भने संसद् कहिले अगाडि नबढ्ने बताउनुभयाे ।
राज्यका प्रमुख ३ शक्तिहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको समन्वय, आपसी सहकार्य र सम्बन्धलाई प्रभावकारी बनाएर लैजानुपर्ने उहाँले बताउनुभयाे । सभामुख घिमिरेले भन्नुभयाे - 'कानुनहरुलाई समय अनुसार सुधार गर्दै जानुपर्छ, यसतर्फ कसैको ध्यान गएको छैन, कार्यपालिका र व्यवस्थापिकाबीचको सम्बन्ध राम्रो हुनुपर्छ, यो संस्थाहरुले एक अर्कालाई छल्न खोज्ने, विपरित जान खोज्ने कार्यले पनि संसद्काे काम कारबाही, संसदीय सेवा, संसद्लाई प्रभावकारी बनाउने कुरामा समस्या आएको हुनसक्छ, यसमा पनि ध्यान दिएर अगाडि बढ्नुपर्छ ।'
संसद् सेवालाई प्रभावकारी बनाउनु सबैको दायित्व भएको भन्दै उहाँले यसलाई सबै मिलेर पूरा गर्नुपर्ने बताउनुभयाे । संसद् सचिवालयले दिने सेवा-सुविधाका आधारमा संसद्लाई प्रभावकारी बनाउन सकिने भन्दै सभामुख घिमिरेले यसमा सरोकार भएका सबै जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'हाम्रो संसद् सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? त्यसमा के कस्ता समस्याहरु छन् ? त्यसलाई पहिचान गर्ने र त्यसको समाधान गर्ने हाम्रो दायित्व हो, मुख्य रुपमा संसद्लाई प्रभावकारी बनाउनका लागि यसले दिने सेवा सुविधाहरु जे हुन् त्यसको आधारमा संसद् प्रभावकारी हुन्छ ।'
संसद्लाई प्रभावकारी बनाउने कुरामा केही प्रगति भएपनि अझै गर्न धेरै बाँकी रहेको सभामुख घिमिरेले बताउनुभयाे । समयसापेक्ष संसदीय सेवालाई प्रभावकारी पार्ने र संसद्को महत्वलाई बढाउन नयाँ ढंगले कानुनी व्यवस्था गरेर जानुपर्ने उहाँले बताउनुभयाे ।
