काठमाडौं । आज संघीय संसद् अन्तरगत चारवटा समितिका बैठक बस्दै छन् ।
बुधबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका बैठक बस्न लागेका हुन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल हुने कार्यसूची रहेको छ । बैठक दिनको एक बजे कानुन समितिको सभाकक्षमा बस्दै छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । सो बैठक बिहानको नौ बजेदेखि बस्दै छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरू सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल गर्ने कार्यसूची रहेको छ । सो समितिको बैठक बिहानको ११ः३० बजे बस्दै छ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा स्थलगत अनुगमन प्रतिवेदन सम्बन्ध छलफल हुने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्दै छ ।
