काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकारसम्बन्धी कानुन बनाउन मन्त्रालय तयार रहेको बताउनुभएकाे छ ।
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले बिहीबार आयोजना गरेको 'दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता' विषयक छलफलमा बाेल्दै मन्त्री गुप्ताले दलित समुदायको अधिकारसम्बन्धी कानुन बनाइने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'विकास, आर्थिक मामिला तथा सुशासन समितिकै सहयोगमा यससम्बन्धी कानुनको मस्यौदा निर्माण गरी यथाशीघ्र अघि बढाउन हामी तयार छौँ ।'
दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा समितिले चलाएको छलफलप्रति आफू सकारात्मक रहेको मन्त्री गुप्ताले बताउनुभयाे ।
पछिल्लो समय संघीय निजामती सेवा विधेयक पारित गराउन मन्त्रालयको सम्पूर्ण शक्ति लागिरहेको भन्दै उहाँले दलित समुदायको अधिकारसम्बन्धी कानुनको मस्यौदा निर्माणमा मन्त्रालयले समितिको पनि साथ खोजेको स्पष्ट पार्नुभयाे ।
समितिले दलित समुदायको अधिकार तथा विकास सम्बन्धी विधेयक संसदमा पेस गर्नका लागि आवश्यक गृहकार्य जुट्न निर्देशन दिएको छ ।समितिले संसद्को हिउँदे अधिवेशनभित्र संसदमा विधेयक पेश गर्नेगरी गृहकार्यमा जुट्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो ।
समिति सभापति कमला पन्तले सरकारलाई निर्देशन दिँदै विधेयक निर्माणका लागि समितिले आवश्यक सहयोग गर्ने बताउनुभयाे । समिति दलित समुदायको अधिकारसम्बन्धी विधेयक निर्माणका लागि समितिले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिँदै उहाँले उक्त गृहकार्यलाई प्रतिवेदनको रुपमा बुझाउने बताउनुभयाे ।
