काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद् पदबाट निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट पठाइएको पत्र संसद् सचिवालयमा पुगेको छ ।
आइतबार सरकार वकिल कार्यालयले जिल्ला अदालत कास्कीमा लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेसँगै कास्की प्रहरीले संसद् सचिवालयमा पत्र पठाएको छ ।
लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी समेत मुद्दाको पूरक अभियोग पत्र दर्ता भएको पत्रमा उल्लेख छ ।
'प्रस्तुत विषयमा चन्द्रकान्त लामिछानेको नाति, लालाचन्द्र लामिछाने र नन्द कुमारी लामिछानेको छोरा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध महाकाल स्थायी वतन भई हाल जिल्ला काठमाडौं बुढानीलकण्ठ नगरपालिका वडा नं. ८ हात्तिगौडा बस्ने चितवन जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा मिति २०८१-०९-०७ गते आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पुरक अभियोगपत्र (दर्ता नं. २०८१–cl–०४३५) दर्ता भएको ब्यहोरा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिंग) निवारण ऐन, २०६४ को दफा २७ को प्रयोजनार्थ जानकारीको लागि अनुरोध गरिएको छ भन्ने जिल्ला सरकारी वकिल कार्यालय कास्कीको च.नं. १४६३ मिति २०८१-०९-०७ गतेको पत्र यस कार्यालयमा प्राप्त हुन आएको हुँदा उक्त पत्र यसै साथ संलग्न राखी पठाइएको ब्यहोरा सादर अनुरोध गरिएको छ'- पत्रमा लेखिएकाे छ ।
सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ बमोजिम मुद्दा अदालतमा दर्ता भएपछि पद स्वतः निलम्बन हुन्छ । लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी गरेर आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको हाे ।
लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कूल ३० करोड ७१ लाख बढी बिगो दाबी भएको छ । उनकी पत्नी निकिता पौडेलमाथि पनि सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।
