काठमाडाैं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० ले भन्सार प्रणालीलाई थप प्रविधिमैत्री र व्यापारमैत्री बनाउने बताउनुभएकाे छ ।
मंगलबार सिंहदरबारमा बसेकाे प्रतिनिधि सभाकाे अर्थ समितिकाे बैठकमा भन्सार सम्बन्धी विधेयकमाथिकाे सैद्धान्तिक छलफलमा बाेल्दै अर्थमन्त्री पाैडेलले नयाँ विधेयकले भन्सार प्रणालीलाई थप प्रविधिमैत्री, व्यापारमैत्री, लगानीमैत्री र निकासीमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।
वर्तमान भन्सार ऐनलाई प्रविधिमैत्री र लगानी आकर्षित बनाउन विगतको ऐनमा धेरै संशोधन गर्नुपर्ने भएकाले नयाँ भन्सार ऐन आवश्यक भएकाे र साेहीअनुसार विधेयक ल्याइएकाे उहाँले बताउनुभयाे । अर्थमन्त्री पाैडेलले भन्नुभयाे - 'समग्र भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउन र लगानी आकर्षित गर्न नयाँ भन्सार विधेयक अगाडि सारिएको हाे ।'
भन्सार महशुल सम्बन्धमा छुट्टै भन्सार ऐन, २०८१ पारित भएर कार्यान्वयनमा आइसकेकाे पनि उहाँले बताउनुभयाे ।
विधेयकमाथिकाे सैद्धान्तिक छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री तथा सांसद्हरुले पारदर्शी प्रणाली अपनाउन सुझाव दिएका थिए ।
