काठमाडाैं । लुम्बिनी प्रदेश सभाकाे हिउँदे अधिवेशन आजदेखि सुरु भएकाे छ ।
मंगलबारदेखि सुरु भएकाे लुम्बिनी प्रदेश सभाको पाँचौं अधिवेशनको पहिलो बैठकले कार्यव्यवस्था परामर्श समिति पुनर्गठन गरेको छ ।
प्रदेश सभा भवन राप्ती उपत्यकामा बसेकाे बैठकमा सभामुख तुलाराम घर्तीमगरले प्रदेशसभाको कार्यव्यवस्था परामर्श समिति पुनर्गठन गरिएकाे जानकारी गराउनुभयाे ।
समितिमा नेकपा एमालेबाट तुलसीप्रसाद चौधरी र यमुना रोका तामाङ रहनुभएकाे उहाँले बताउनुभयाे । सभामुख घर्तीमगरका अनुसार नेपाली कांग्रेसबाट जमुना ढकाल र निमा गिरी समितिमा रहनुभएकाे छ । माओवादी केन्द्रबाट इन्द्रजित थारु, राप्रपाबाट मिनाकुमारी श्रेष्ठ, जनमतबाट सुमन शर्मा रायमाझी, नागरिक उन्मुक्तिबाट राजकुमार चौधरी, लोसपाबाट हेमा बेल्वासे र जसपा नेपालबाट भण्डारीलाल अहिर समितिमा रहनुभएकाे छ ।
समितिमा मनोनित सबै सदस्य प्रदेश सभा बैठकबाट अनुमोदन भएकाे सभामुख घर्तीमगरले घाेषणा गर्नुभयाे ।
लुम्बिनी प्रदेश सभा नियमावलीकाे नियम १४ को उपनियम १ अनुसार प्रदेश सभा बैठकमा पेस हुने विषयहरुको प्राथमिकता तथा समयावधिको निर्धारणलगायत बैठकलाई व्यवस्थित रुपमा सञ्चालन गर्न तथा सभामुखले आवश्यकता ठहराएको अन्य विषयमा सभामुखलाई परामर्श दिनका लागि सभामुखको अध्यक्षतामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट समानुपातिक प्रतिनिधित्व हुने गरी बढीमा १३ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गर्न सक्ने व्यवस्था छ ।
आजकाे बैठकमा दलहरुकाे तर्फबाट सांसद्हरुले बाेलेका थिए । पाँचौं अधिवेशनको दोस्रो बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।
