काठमाडाैं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि छलफल भएको छ ।
मंगलबार सिंहदरबारमा बसेकाे समितिकाे बैठकमा साे विधेयकमाथि सरकारवालाहरुसँग छलफल भएकाे हाे । बैठकमा समितिका सदस्यहरूले विधेयक सकारात्मक रहेको र थप छलफल अझै गर्नुपर्ने बताएका थिए ।
विधेयकमाथि दफावार छलफल गर्न बाँकी रहेकाे समितिकी सभापति तुलसाकुमारी दाहालले बताउनुभयाे । उहाँले भन्नुभयो - 'विधेयक सकारात्मक छ भन्ने सबैको सहमति छ, विश्वविद्यालय निरन्तर सञ्चालन हुने वा नहुनेमा भने हाम्रो चासो हो ।'
तिलगंगा प्रतिष्ठानका पदाधिकारीसँग भएको छलफलमा तिलगंगाकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरूङलले तिलगंगा प्रतिष्ठानको ३० वर्षे इतिहासमा यहाँसम्मको यात्रा तय गर्नुमा व्यवस्थापनको हात रहेको बताउनुभयो । उहाँले भन्नुभयो - 'संस्था राम्ररी चल्न व्यवस्थापन समूहको ठूलो हात हुन्, व्यवस्थापकीय ढाँचा राम्रो बनाउन सकियो भने पक्कै पनि विश्वविद्यालय पनि राम्ररी सञ्चालन हुनेछ ।'
तिलगंगाका प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनालले तिलगंगासँग जग्गा र स्रोत जुटाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो - 'हामीसँग ७० रोपनी जग्गा छ, बाँकी खोजीमा छौँ, दाताहरूले दिन्छौँ भनेर पक्का आश्वासन दिइसक्नुभएको छ, जग्गाले सरकारले तोकेको मापदण्ड हामी पूरा गर्न तयार छौँ ।'
उहाँका अनुसार विश्वविद्यालय सञ्चालनमा समस्या हुने छैन । '१० वर्षको तथ्यांक हेर्ने हो भने संस्था सञ्चितिमै चलिरहेको छ, अहिले हामीसँग जति सञ्चिति बचत छ त्यो केही वर्षका लगि पुग्छ'- खनालले भन्नुभयाे ।
– रासस
