काठमाडाैं । संसदीय समितिले गुठीसम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि जतिसक्दो चाँडाे गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
बुधबार सिंहदरबारमा बसेकाे राष्ट्रिय सभाकाे संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले साे निर्देशन दिएकाे हाे । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई दिएको निर्देशनको प्रगति अवस्थाबारे भएको छलफलपछि सो मन्त्रालयलाई देशभरको गुठीसम्बन्धी समस्या समाधान गर्नेगरी विधेयक ल्याउन समितिले निर्देशन दिएको हो ।
गुठीसम्बन्धी समस्या समाधान गर्नका लागि गुठी ऐनसम्बन्धी संशोधन वा नयाँ विधेयक छिट्टै संसद्मा पेस गर्न भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिनुभयाे ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले देशभर रहेको गुठीको जग्गा खोज्ने काम गरिरहेको बताउनुभयाे । उहाँले गुठीको संरचना र जग्गा खोजेर आवश्यक नीति तय गर्ने सरकारको योजना रहेको पनि जानकारी दिनुभयो । मन्त्री अधिकारीले भन्नुभयो - 'भूमिहीनको समस्या समाधान गर्नका लागि राष्ट्रिय भूमि आयोगलाई अधिकार सम्पन्न बनाउँदै भएका कानुनका अप्ठ्यारा फुकाउनुु पर्नेछ, त्यसका लागि पनि मन्त्रालयले काम गरिरहेको छ, पुस महिनाभित्र सबै जिल्लामा आयोग बनाउने काम सकिनेछ ।'
बैठकमा सांसद्हरुले गुठी समस्या समाधानका लागि भइरहेको पहल, गुठी ऐन निर्माणका लागि भइरहेका काम, र भूमिहीनको समस्या समाधान लगातका विषयमा जोड दिएका थिए ।
- रासस
