काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्नुभएकाे छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यही माघ १८ गतेका लागि संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएकाे राष्ट्रपति कार्यालले मंगलबार विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।
साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेकाे थियाे । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसका आधारमा माघ १८ गते शुक्रबार दिउँसो १:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा दुवै सदनको अधिवेशन आह्वान गर्नुभएकाे राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपतिले संघीय संसद्काे अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
संसद्काे वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । यसबीचमा सरकारले सहकारी सम्बन्धी लगायत विभिन्न अध्यादेश जारी गरेकाे छ ।
संसद् बाेलाउनुकाे सट्टा सरकारले अध्यादेश ल्याएकाे भन्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र लगायत प्रतिपक्षी दलले विराेध गर्दै आएका थिए ।
