काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार सम्बन्धी विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्ने बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभाकाे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले प्रविधिको फेरबदलसँगै परिवर्तन हुन जरुरी रहेकाले विद्युतीय व्यापार सम्बन्धी विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'प्रविधिको फेरबदलसँगै हामी परिवर्तन हुनपनि आवश्यक छ, तर अन्य विषयहरु परिवर्तन गर्न मन्त्रिपरिषद्बाट कार्यान्वयन हुनुपर्छ, तर ऐनमा चाहीं समितिले नै अगाडि बढाएर लान सक्छ, विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्नेछ ।'
समितिमा आएका उपयुक्त कुराहरु र विषयहरुलाई दायाँ बायाँ नगरेर ऐनको गरिमामाथि प्रहार गर्न नहुने मन्त्री भण्डारीले बताउनुभयाे । प्रविधिका कारण समयक्रममा बदलिरहँदा ऐनको गरिमामाथि फेरी प्रहार हुनसक्ने भन्दै उहाँले ऐन र विधेयकहरुमा ध्यान दिनुपर्ने बताउनुभयाे ।
