काठमाडाैं । प्रतिनिधि सभाकाे अर्थ समितिका सभापतिसहितको टोलीले आइतबार लुम्बिनी भ्रमण गरेका छन् ।
समितिका सभापति सन्तोष चालिसेको नेतृत्वमा आएका प्रतिनिधिसभा सदस्यले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरी लुम्बिनीको विकासबारे चासो राखेका हुन् । सांसद्लाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गर्नुभएको थियो ।
भ्रमणपछि अर्थसमितिका सदस्य सूर्य थापाले लुम्बिनी विश्वका बौद्धमार्गी र शान्तिकर्मीको पवित्र तीर्थस्थल भएकाले यसको विकासका बारेमा आफूहरुले चासो राखेको बताउनुभयो । उहाँले लुम्बिनी गुरुयोजनाको ८८ प्रतिशत काम पूरा भएको तर बाँकी रहेको कामका लागि बजेट अभावका विषयमा आफूहरुले ध्यान दिने बताउनुभयो ।
साे अवसरमा सदस्य सचिव शाक्यले लुम्बिनी गुरुयोजनाको बाँकी काम, लुम्बिनी क्षेत्रमा भइरहेका पछिल्ला गतिविधिबारे अर्थ समितिका सांसद्लाई जानकारी गराउनुभएको थियो । लुम्बिनीको पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वबारे जानकारी गराउँदै लुम्बिनीलाई पछिल्ला वर्षमा बजेटमा भएको कटौतीका बारेमा समेत ध्यानार्कषण गराएको शाक्यले बताउनुभयो । सांसद्ले मायदेवीको दर्शन, पवित्र पुष्करणीपोखरी, अशोकस्तम्भ, केही विहार क्षेत्रहरुको भ्रमण गर्नुभएको थियो ।
– रासस
