काठमाडाैं । सरकारले ल्याएका सबै अध्यादेश संघीय संसद्काे हिउँदे अधिवेशनकाे पहिलाे दिनकाे बैठकमै पेस हुने भएका छन् ।
सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका मुख्य सचेतक तथा सचेतकहरूबीच साेमबार भएकाे छलफलमा सरकारले ल्याएका सबै अध्यादेश हिउँदे अधिवेशनकाे पहिलाे दिनकाे बैठकमै पेस गर्ने सहमति भएकाे हाे ।
संघीय संसद्काे हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुँदैछ । सरकारले ल्याएका सबै अध्यादेशहरुलाई माघ २२ गतेकाे प्रतिनिधि सभा बैठकमा निर्णयार्थ पेस गर्नेगरी माघ महिनाकाे क्यालेण्डर तयार पारिएकाे बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयाे ।
हिउँदे अधिवेशनकाे पहिलाे दिन माघ १८ गते प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओली र विभिन्न दलका शीर्ष नेताहरुले सम्बाेधन गर्नुहुने तय भएकाे उहाँले जानकारी दिनुभयाे । भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तय भएको र साे बैठकका एजेण्डाबारे पनि आज छलफल भएकाे बर्ताैलाले जानकारी दिनुभयाे ।
बैठकले माघ १८ गतेदेखि ३० गतेसम्म बस्ने प्रतिनिधि सभा बैठकका लागि क्यालेन्डर तयार पारेकाे उहाँले जानकारी दिनुभयाे । बर्ताैलाले भन्नुभयाे - 'कार्यव्यवस्थाकाे भाेलिकाे बैठकमा के-के विषयमा छलफल गर्ने भन्ने विषय पनि आजकाे एजेण्डा थियाे, १८ गते बैठक सुरु हुन्छ, साेही बैठकमा अध्यादेशहरु पेस हुन्छ, २२, २३, २४ हाउस बाेलाउँछाैं, २२ गते सबै अध्यादेश संसद्मा निर्णयार्थ पेस हुन्छन् ।'
माघ २३ र २४ गते पनि प्रतिनिधि सभा बैठक बस्ने तय भएको एमाले प्रमुख सचेतक बर्ताैलाले जानकारी दिनुभयाे । उहाँका अनुसार २५, २६ र २७ गते भने संसदीय समितिहरुको बैठक राखिएको छ । त्यसपछि माघ २८, २९ र ३० संसद् बैठक बस्नेछ ।
यता सरकारले संसद्लाई विजनेज अभाव हुने नदिने बताएकाे छ । भक्तपुरमा साेमबार आयाेजिक एक कार्यक्रममा बाेल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई पहिलाे दिनदेखि नै कामकाे चाङ लाग्ने बताउनुभयाे । सरकारलाई काम र बिजनेस दिइने भन्दै उहाँले संसद् तीब्र रफ्तारमा चल्ने बताउनुभयाे ।
सरकारले हालै ल्याएका अध्यादेश पारित गरिने र नयाँ कानुन बनाइने प्रधानमन्त्री ओलीले बताउनुभयाे । अप्ठेराे परेका ठाउँमा कानुनी रुपमै बाटाे खाेलिने भन्दै उहाँले खरिद एेन लगायतमा भएका अप्ठेराे हटाउन यसै अधिवेशनमा एेन ल्याइने बताउनुभयाे ।
देशलाई सुशासन र विकासकाे बाटाेमा अघि बढाउन नेकपा एमाले र नेपाली कांग्रेसकाे सरकार बनेकाे उहाँले बताउनुभयाे । सहमतिमै संविधान संशाेधन गरिने भन्दै प्रधानमन्त्री ओलीले कहिले संशाेधन हुने भनेर भन्न नसकिने बताउनुभयाे ।
