काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले माघ महिनामा बस्ने बैठकको क्यालेण्डर तय गरेको छ ।
मंगलबार सभामुख देवराज घिमिरेले राख्नु भएको बैठकमा सोमबार सचिवालयबाट पेस भएका कार्यसूची केही हेरफेर भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रस्तावित मिति हेरफेर भएका छन्, कार्यसूची त त्यही नै हुन्छन्’, उहाँले भन्नुभयो ।
प्रतिनिधि सभा बैठक माघ १८ गते बैठक प्रारम्भ हुँदै छ । ‘अध्यादेश त्यसै दिन प्रस्तुत हुन्छ, हिजो हामीले २२, २३ संसद् चलाउने भनेका थियौँ, तर आज मिति हेरफेर भएर बैठक २४ र २५ बस्ने निर्णय गरिएको छ’, उहाँले भन्नुभयो ।
अध्यादेशहरू माघ २४ गते नै बैठकमा निर्णयार्थ प्रस्तुत गरिने उहाँले जानकारी दिनुभयो । संसद्लाई व्यवस्थित र प्रभाकारी बनाउने कुरामा प्रमुख भूमिका सत्ता पक्षको भएकाले त्यसलाई प्रभाकारी बनाउन आफूहरूले भूमिका खेल्ने उहाँले स्पष्ट पार्नुभयो ।
बैठक पछि नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले कानुन बन्ने गति अघि धिमा गतिमा भएको बताउँदै यसले सरकारलाई अध्यादेश ल्याउन उत्प्रेरित गरेको उहाँले स्पष्ट पार्नुभयो । त्यसैले कानुन बनाउने प्रक्रियालाई गति दिनु पर्नेमा उहाँले जोड दिनुभयो ।
अहिले कुनै पनि राजनीतिक प्रकृतिका अध्यादेश नआएका बताउँदै उहाँले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन, सहकारीका समस्या समाधान गर्न र सुशासनको लागि अध्यादेश आएका स्पष्ट पार्नुभयो । ‘हामीले राजनीतिक प्रकृतिका अध्यादेशको विरोध गरेका हौँ’, उहाँले भन्नुभयो ।
