काठमाडौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सदनमा दर्ता गराएकाे छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार साे विधेयक राष्ट्रिय सभामा दर्ता गराउनुभएकाे हाे ।
सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्ने तथा नियमन गर्ने सम्बन्धमा आवश्यक कानुनी व्यवस्था गर्न आवश्यक भएकाले विधेयक दर्ता गरिएकाे सरकारले जनाएकाे छ ।
साे विधेयक काे परिच्छेद २ मा सामाजिक सञ्जालसम्बन्धी प्लेटफर्म सञ्चालन अनुमतिकाे व्यवस्था राखिएकाे छ । परिच्छेद ४ काे दफा १३ मा सामाजिक सञ्जाल प्लेटफर्मबाट हटाउन निर्देशन दिन सक्ने व्यवस्था गरिएकाे छ ।
परिच्छेद ५ मा कसुर र सजाय सम्बन्धी व्यवस्था छ । साइबर बुलिङ गरेमा ३ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था राखिएको छ ।
