काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्लाई लोकतन्त्रको मन्दिरको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
आजदेखि सुरु भएको प्रतिनिधि सभा बैठक शुभारम्भ गर्दै सभामुख घिमिरेले संसद्लाई छलफल र बहसको थलो बनाउनु पर्ने बताउनुभयो । ‘ संसदमा विवाद, छलफल र बहस हुनु नौलो होइन, तर हाम्रा निचोडहरू सहमतिको सङ्गम स्थल बन्नुपर्दछ’, उहाँले भन्नुभयो ।
जनताको अभिमत बोकेर आएका राजनीतिक दलहरू साँघुरो गल्लीमा सीमित हुन नहुने उहाँको धारणा छ । राजनीतिक दल राष्ट्रिय हितको विशाल मार्गमा अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
सत्तापक्ष र प्रतिपक्ष दुवैले तर्क र विचारको सम्मानजनक आदानप्रदानबाट संसद्लाई प्रभावकारी बनाउनु पर्ने उहाँको भनाइ छ । ‘परस्पर सम्मान, सहकार्य र एकताबाट नै हामीले मुलुकका विद्यमान समस्या निरूपण गर्न र नीति निर्माणका लागि ऐतिहासिक सफलता प्राप्त गर्नेछौँ’ उहाँले भन्नुभयो ।
