काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार बनेपछि विकास निर्माणका कामले गति लिएको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले रोकिएका विकासका कामलाई गति दिएको दाबी गर्नुभयो । ‘विकास निर्माणका काममा ‘ब्रेक–थ्रु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि ‘थ्रु’ गरेका छौँ’, उहाँले भन्नुभयो ।
ओलीले देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने शहीदहरूका महान् सपनालाई साकार पार्ने दृढ सङ्कल्प व्यक्त गर्नुभयो । ओलीले राष्ट्र«को जीवनमा अमूल्य योगदान दिने पुष्पलाल, बिपी कोइराला, गणेशमान सिंह र मदन भण्डारी लगायत सम्पूर्ण अग्रजहरूप्रति पनि बैठकमा सम्मान प्रकट गर्नुभयो ।
पछिल्लो नौ वर्षमा बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा ४२ पटक सवारी दुर्घटना भएर धेरैको ज्यान गएको स्मरण गराउँदै ओलीले अब यस स्थितिलाई बदल्नु पर्ने छ र त्यसका लागि काम गर्नु पर्ने भन्ने आफूले सङ्कल्प गरेको सुनाउनुभयो । यस पटक संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा एक साता अघि सिद्धबाबा सुरुङमार्ग ब्रेक–थ्रु भएको उहाँले जानकारी दिनुभयो । ‘अब केही समयभित्र हामी यस सुरुङमार्गलाई सञ्चालनमा ल्याउने छौँ यसले पाल्पा, स्याङ्जा, कास्की, गुल्मी र अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठानलाई बुटवलसँग जोड्ने छ, यही सडक कालीगण्डकी कोरिडोरसँग पनि जोडिँदै छ र त्यहाँका जनताको जीवनमा यसले ठुलो परिवर्तन ल्याउने छ’, उहाँले भन्नुभयो ।
सडक यात्राको असुरक्षा घटाउन र पूर्वाधारलाई दिगो बनाउन सुरुङ मार्गको योजना अघि सारिएको उहाँले बताउनुभयो । सरकारको सबैभन्दा पहिलो प्राथमिकता थालेको काम सक्ने हो रहेको उहाँले बताउनुभयो ।
थालेका काम मध्ये काठमाडौं–तराई द्रुत मार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ पनि ब्रेक थ्रु भएको उहाँले जानकारी दिनुभयो । चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडक मार्ग केही दिन अघि मात्रै ब्रेक–थ्रु भएको उहाँले बताउनुभयो । ठेकेदार कम्पनीले काम छोडेपछि बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम आफू नेतृत्वको सरकार आउँदाका बखत अलपत्र रहेको स्मरण गराउँदै ओलीले आज त्यसको काम द्रुत गतिमा अघि बढिरहेको जानकारी दिनुभयो । ‘यो सरकार आउँदा धुलो उडिरहेको मुग्लिन–पोखरा सडक आज चिल्लो र आकर्षक भएको छ’, उहाँले भन्नुभयो ।
अहिले खेल नेपाली युवाहरूको जीवनशैली बनेको ओलीले बताउनुभयो । ‘त्यसैले यस पटक क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरको क्रिकेट खेलमैदानलाई रङ्गशाला बनाउने र त्यसमा फ्लड लाइट जोड्ने निर्णय गरेको थियाे, त्यसका लागि टेण्डर आह्वान भएको छ, तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्ने गरी काम अघि बढिरहेको छ’, उहाँले भन्नुभयो ।
उहाँले सुर्खेतमा आधुनिक कर्णाली रङ्गशाला तयार भएको बताउनुभयो । ‘देशको दुर्गम भूगोल मानिने कर्णालीमा आधुनिक रङ्गशाला, यो हाम्रा युवाको भविष्यका लागि सुखद सन्देश हो’, उहाँले भन्नुभयो ।
