काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रणालीमा कोही सत्ता पक्ष र कोही प्रतिपक्षमा हुनु स्वाभाविक भएको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले संसद् सबैको साझा थलो भएको बताउनुभयो । ‘यो हामी सबैको संसद् हो यस सदनमा हामी कोही सरकार पक्ष छौँ, कोही प्रतिपक्ष छौँ, यो हामीले रोजेर ल्याएको प्रणाली हो, बहुदलीय प्रणाली, सत्तापक्ष र प्रतिपक्ष हुने प्रणाली, संवैधानिक सत्तापक्ष र संवैधानिक प्रतिपक्ष हुने प्रणाली’, उहाँले भन्नुभयो ।
राष्ट्र विकासको लागि कोही पनि प्रतिपक्ष नहुने उहाँले स्पष्ट पार्नुभयो । ‘जनताका हितमा, राष्ट्रलाई अलमलबाट तीव्र गतिको विकासमा लैजान कोही पनि प्रतिपक्ष हुनै पर्दैन, यस काममा हामी सबै मिलेर अगाडि बढौँ भन्ने म आग्रह गर्न चाहन्छु, संसद्को यस अधिवेशनले आवश्यक नयाँ कानुन दिएर विकासको रफ्तारलाई तीव्रता दिन नयाँ रेकर्ड राख्ने छ भन्ने मेरो विश्वास छ’, ओलीले भन्नुभयो ।
उहाँले संसद् प्रतिपक्षको हो भन्नेलाई संसद् सत्ता पक्षको पनि हो भन्ने कुरा बिर्सन आग्रह गर्नुभयो । ‘एउटा कुरा म भन्न चाहन्छु, अघि पनि धेरै पटक मैले यहाँ सुनेँ–संसद् प्रतिपक्षको हो भनेर, अनि सत्तापक्षको यो के हो त ? यो हामी सबैको संसद् हो, हामी सबैले विचार व्यक्त गर्ने संसद् हो, हामी विचारहरू ल्याउँछौँ हामी छलफलहरू गर्छौँ खास गरी प्रस्तावहरू, विधेयकहरू सबै सरकारले ल्याउँछ, त्यस कारण यो प्रतिपक्षीको संसद् हो, सरकारले ल्याउन पाउँदैन भन्ने कुरा हुँदैन, विधेयकहरू सरकारले ल्याउँछ, सदनलाई बिजनेस दिने काम सरकारको हो, हामी सबैले थिति विधि नियम अनुसार सदन चलाउँछौँ र आफ्ना अभिव्यक्तिहरू राख्छौँ’, उहाँले भन्नुभयो ।
सरकारले कुनै आलोचनायोग्य काम नगरेको बताउँदै ओलीले सन्तोषजनक काम नगरेको भन्ने कुनै कतैबाट आलोचना नउठेको बताउनुभयो । ‘बरु हावादारी कुराहरू बजारमा छरेको पाइयो, स्वीट्जरल्याण्ड बैङ्कमा यति अरब डलर लुकाएर राखेको छ, श्रीमतीका नाममा लुकाएर राखेको छ, अर्को टेलिकममा यति अरब लुकाएर राखेछ, यस्ता खालका झुटहरू, यसमा यति खाएको छ भन्ने, तिनी मान्छेहरू पनि कराइराखेका छन्, जो सुन भनेर पशुपतिमा पित्तल चढायो भनेर छानबिन गराउने मान्छेहरू पनि अहिले कराइराखेको सुन्छु, यस्तै हावा कुरा गरेर भ्रम फिँजाउने कामहरू भएको देख्दा सरकारका काममा आलोचना गर्ने कुनै ठाउँ रहिनछ, त्यसै कारण यस्तै काल्पनिक कुराहरूको आश्रय लिनु पर्यो’, उहाँले भन्नुभयो ।
आफूले सरकारका कामकारबाहीहरूको रचनात्मक आलोचना होस् भन्ने चाहेको ओलीले बताउनुभयो । सरकारलाई गल्ती गर्नबाट रोक्न आलोचना, टिप्पणीहरूको आवश्यकता हुने बताउँदै ओलीले प्रतिपक्षले यस्ता कुरामा खबरदारी गर्नुपर्नेमा ओलीले जोड दिनुभयो ।
चरित्र हत्या गर्नका लागि कपोकल्पित, झुटा, निराधार, हुनै नसक्नेखालका अफवाहहरूको सिर्जना गर्नु र तिनीहरूको गीत गाएर कुद्नु अनुचित भएको ओलीले बताउनुभयो । यो संसदीय प्रणाली, लोकतान्त्रिक प्रणाली र राजनीतिक दलहरूको आफ्नै मर्यादा र गरिमाभन्दा विपरीत हुने उहाँको धारणा छ ।
ओलीले आफूले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने बताउनुभयो । ‘म फेरि पनि दावासाथ भन्छु, दुनियाँको अगाडि उभिएर भन्न चाहन्छु, म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ, कसैसँग दम छ भने भ्रष्टाचार गरेको कुनै पनि मात्रामा, कुनै पनि ठाउँमा, कुनै पनि सन्दर्भमा भ्रष्टाचार गरेको एउटा कुरा ल्याओस्, असम्बन्धित कुराहरूलाई जोडेर यस्ता कुराहरू त्यति सान्दर्भिक हुँदैनन्’, उहाँले भन्नुभयो ।
ओलीले संसद्को पाँचौँ अधिवेशन अत्यन्तै ओजनदार होस् भन्ने अपेक्षा राख्नुभयो । ‘यो झुटा आरोप, प्रत्यारोपमा सीमित नहोस्, त्यस्ता कुराहरू नउठुन्, यसले देश र जनताको हितको पक्षमा, सार्वभौमसत्ताको पक्षमा, राष्ट्रिय हितको पक्षमा, जनताको खुसीको पक्षमा, देशको सुशासनको पक्षमा जमेर छलफल गरोस् र सरकारलाई गम्भीर सुझाबहरु देओस्, म त्यो अपेक्षा गर्न चाहन्छु’, ओलीले भन्नुभयो ।
