काठमाडौं । प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै आपत्ति जनाउनुभएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पाण्डेले छिटो काम कारबाही गर्ने नाममा सरकारले अध्यादेश ल्याउनु गलत भएको बताउनुभयो । सरकारले सबैलाई लिएर हिँड्न भन्दा पनि अध्यादेशबाट देश अघि बढाउन खोजेको उहाँले धारणा राख्नु भयो । ‘छिटो काम कारबाही गर्ने नाममा सरकारले जसरी अध्यादेश ल्याएको छ, त्यो बेठिक भएको छ, सरकार अहिले संसद्लाई मिनिमाइज गर्न संसदबाट सबैलाई लिएर हिँड्न भन्दा पनि अध्यादेशबाट लैजाने जुन काम गर्न खोजिरहेको छ, यो बेठिक भएको छ’, उहाँले भन्नुभयो ।
सरकारले सत्ता पक्षलाई काखा र विपक्षलाई र पाखा गर्ने काम गरिरहेको उहाँको भनाइ छ । ‘सरकार त सत्ता पक्ष र विपक्षलाई काखा र पाखा गरिरहेको छ, सरकार सबैको हो, सरकारले त नीति नियमका आधारमा आफ्ना कामलाई अगाडि बढाउनु पर्छ’, उहाँले भन्नुभयो ।
सुशासनको क्षेत्रमा जसरी काम गर्नुपर्ने हो त्यही अनुसार सरकारले काम गर्न नसकेको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन, गर्न दिन्न भनेको कुरा ठिक भए पनि भुटानी शरणार्थी लगायतका काण्डले गिज्याइरहेका पाण्डेले बताउनुभयो ।
