काठमाडौं । प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले सांसद स्वर्णिम वाग्लेले सिङ्गो राज्य शक्ति नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विरुद्ध लागेको आरोप लगाउनुभएको छ ।
शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौँ अधिवेशनमा बोल्दै रास्वपा उपसभापति समेत रहनुभएको वाग्लेले सो पार्टीका सभापति रवि लामिछानेमाथि राज्य प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको बताउनुभयो । उहाँले रास्वपाका सभापति लामिछानेको सांसद पद पनि राजनीतिक पूर्वाग्रह राखी निलम्बन गरिएको आरोप लगाउनुभयो ।
लामिछाने प्रतिनिधि सभामा विशेष व्यक्ति भएको बताउँदै उहाँले उहाँलाई प्रतिशोधपूर्ण तरिकाले संसदमा उपस्थित हुनबाट रोक लगाइएको बताउनुभयो । ‘संसदमा एउटा विशेष व्यक्ति अनुपस्थिति छ, नेपालको संसदीय इतिहासमा झण्डै ५० हजार मत ल्याएर दुई पटक विजयी भएको चितवन क्षेत्र नं २ का सांसद तथा हाम्रो पार्टीको सभापति रवि लामिछाने आज उपस्थित हुनुहुन्न, यहाँका सबै सांसदहरूको सर्वसम्मत रूपमा बनाएको संविधानको धारामा टेकेर नै बनाएको विशेष नियमावलीको प्रावधानलाई बेवास्ता गर्दै उहाँलाई निलम्बन गरिएको छ’, उहाँले भन्नुभयो ।
उहाँले नयाँ शक्तिहरू विभिन्न चरण पार गरेर अघि बढ्नु पर्ने बताउँदै अहिले रास्वपा दुईवटा अप्ठेरा चरण पार गरेर तेस्रो चरणमा प्रवेश गरेको बताउनुभयो । चौथो चरण अस्थित्वको स्वीकार्यता, प्रवेश, विस्तार र दिग्विजय हुने बताउँदै उहाँले आफूहरू चौथो चरणमा जान पूर्ण रूपमा आत्मविश्वासकारसाथ अगाडि बढेको बताउनुभयो ।
उहाँले हालसम्म राजकीय पद ग्रहण गरेका सबैको सम्पत्ति छानबिन गर्न न्यायिक आयोग गठन गर्न पनि माग गर्नुभयो । संसदीय छानबिन विशेष समितिको सिफारिस विपरीत राजनीतिक प्रतिशोधका आधारमा रास्वपा सभापति रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरणको समेत मुद्दा लगाइएको भन्दै उहाँले राजकीय पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न पूर्व प्रधानन्यायाधीश वा न्यायाधीशको नेतृत्वमा आयोग गठनको माग गर्नु भयो ।
सो पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी, किर्ते कागज र संगठित अपराधको मुद्दा लागेपछि संसद् पदबाट निलम्बन गरिएको छ । रास्वपाले त्यसको विरोध गर्दै शुक्रबार बिहान मात्र सभामुखलाई भेटेर निलम्बन फिर्ता गर्न माग गरेको थियो । तर सभामुखले मुद्दा चलेको व्यक्तिमा निलम्बन फुकुवा गर्न नसक्ने भन्दै सो प्रस्ताव अस्वीकार गर्नुभएको छ ।
