काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सरकारले जारी गरेका विभिन्न ६ वटा अध्यादेश पेस भएका छन् ।
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश–२०८१, निजीकरण संशोधन अध्यादेश–२०८१ र आर्थिक तथा व्यवसायीक वातावरण सुधार लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ पेस भएका हुन् ।
प्रधानमन्त्रीको तर्फबाट सञ्चार सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गर्नुभएको थियो । बाँकी अध्यादेश उपप्रधान एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले पेस गर्नुभएको थियो ।
सरकारले संसद् नचलेको बेलामा अध्यादेश ल्याउन सक्ने र त्यस्ता अध्यादेश संसद् चलेकै दिन बैठकमा पेस गर्नुपर्ने प्रावधान अनुसार आज अध्यादेश पेस गरिएको हो । आज अध्यादेश पेस गर्न रोक्ने तयारी प्रतिपक्षी दलहरूले गरेका भए पनि बैठक सुरु भएपछि सो निर्णयबाट पछि हटेका थिए ।
