काठमाडौं । शुक्रबार प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू मच्चियो मच्चियो थच्चियोको स्थितिमा पुगेका छन् ।
संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकको सुरुमै आकस्मिक समयमा बोल्न नदिएको भन्दै सभामुखलाई दङ्ग्याएर सांसद बैठक बहिष्कार गरेका सो पार्टीका सांसद्हरु सभामुखले बैठक निरन्तर अघि बढाएपछि बैठकमा फर्कन बाध्य भए ।
रास्वपाको बहिष्कारका बाबजुद पनि संसद् बैठक नियमित अघि बढेपछि सो पार्टीका सांसदहरू आफूहरूले साङ्केतिक बहिष्कार गरेको भन्दै बैठकमा फर्कनु भएको थियो । बैठकबाट जर्याकजुरुक उठेर हिँडेका सांसदहरू १५ मिनेटपछि गएर बिना प्रतिक्रिया थच्याककुचुक बस्नु भएको थियो ।
बैठकै क्रममा सभामुख र रास्वपा सांसदहरूबीच आधा घण्टाभन्दा बढी सवाल जवाफ चलेको थियो । त्यस क्रममा सभामुखले आसन ग्रहण गरेर सभा सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर उहाँहरू बस्नुकाे सट्टा बैठक नै छाडेर हिँड्नुभएको थियो ।
१५ मिनेटसम्म बाहिर बस्दा पनि बैठक अघि बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले केही कुरा राख्नको लागि समय माग गर्दा सभामुखले नदिएकोले १५ मिनेटका लागि सदन बहिष्कार गरेको प्रतिक्रिया दिनुभयो । अधिवेशनको पहिलो दिनको यो प्रस्तुति रास्वपाको अति फितलो देखिएको थियो ।
