काठमाडाैं । अन्तरजातीय विवाह गरेका दलित युवामाथि अत्याचार भएकाे भन्दै सांसद्हरुले सरकारकाे ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद्हरुले सर्लाहीको बरहथवा नगरपालिका-४ का सत्येन्द्रकुमार राम (चमार) र बरहथवा-५ की नेहा रौनियारलाई अन्तरजातीय प्रेमविवाह गरेकै कारण ज्यादती गरिएको भन्दै गृहमन्त्री रमेश लेखककाे जवाफ मागेका छन् ।
सांसद् शान्ति विकले याे घटनाले तमाम दलित समुदायकाे अपमान गरेकाे बताउनुभयाे । याे घटनाकाे सत्यतथ्य जानकारी गराउन उहाँले गृहमन्त्री लेखककाे ध्यानाकर्षण गराउनुभयाे । गृहमन्त्री आदेशमा अत्याचार भएकाे भनेर समाचार आएकाे भन्दै सांसद् विकले यसबारे पनि गृहमन्त्रीकाे जवाफ आउनुपर्ने बताउनुभयाे ।
सांसद् हर्कमाया विकले अन्तरजातीय विवाह गर्नेलाई सरकारले लखेटी-लखेटी दण्ड गर्ने गरेको भन्दै आपत्ति जनाउनुभयाे । यस घटनाले दलितमाथि घाेर अपमान गरेकाे उहाँले बताउनुभयाे । घटनामा संलग्नलाई कारबाही र सतेन्द्र र नेहालाई स्वतन्त्रपूर्वक बाँच्ने वातावरण मिलाउन सांसद् विकले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
सांसद् शिव नेपालीले सतेन्द्र र नेहामाथि अत्याचार भइरहेकाे बताउनुभयाे । के सरकार संविधान भन्दा माथि हाे भन्ने प्रश्न उहाँले गर्नुभयाे । यस विषयमा गृहमन्त्रीले सत्यतथ्य जानकारी दिनुपर्ने बताउनुभयाे ।
