काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् सुमना श्रेष्ठले सदनमा दर्ता भएको सामाजिक सञ्जाल विधेयक विरुद्ध युवाहरुले उठाएकाे आवाज सुन्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् श्रेष्ठले केही नेपाली कन्टेन्ट क्रियटरहरूले विभिन्न माग राख्दै विधेयककाे विराेध गरिरहेका भन्दै उनीहरुकाे आवाज सुन्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
युवाहरूलाई बोलाएर विधेयकबारे थप छलफल गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयाे । 'सामाजिक सञ्जाल नियमन विधेयकमा युवाका कुरा सरकारले सम्बाेधन गराेस्, युवालाई बोलाउनुस्, पेलेरै यो सदनबाट विधेयक पारित हुन्छ भन्ने हामीले देखेका पनि छौं, कन्टेन्ट क्रियसन भनेको के हो ? सोसल मिडियाका सामान्य कुराहरू पनि नबुझेर सरकारले यो विधेयक ल्याएको छ'- सांसद् श्रेष्ठले भन्नुभयाे ।
सरकारले युवाहरुकाे आवाज बाेक्नैपर्ने भन्दै उहाँले भन्नुभयाे - 'युवाहरुले भनेका छन् बाेल्न दे सरकार ।'
