काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अध्यादेशबाट शासन गर्न खाेजेकाे आराेप लगाउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा समय लिएर बाेल्दै अध्यक्ष प्रचण्डले सरकारले संसद्काे अवमूल्यन गरेकाे, अपमान गरेकाे र छल्न खाेजेकाे आराेप लगाउनुभयाे ।
निक्कै अघि बाेलाउनुपर्ने अधिवेशन ढिलाेगरी बाेलाइएकाे उहाँले बताउनुभयाे । सरकार अधिवेशनबाट मात्र पन्छिन मात्र नखाेजी सार्वभाैम संसद्काे उपेक्षा गर्न अग्रसर भएकाे प्रचण्डले आराेप लगाउनुभयाे ।
६ दिनअघि अध्यादेश ल्याएर चमत्कार गर्न खाेज्नुभएकाे हाे ? भन्ने प्रश्न उहाँले सत्तापक्षलाई गर्नुभयाे । 'माघ ८ गते संसद्काे बैठक आव्हान गरिएकाे छ, तर जम्मा ५ दिनअघि दजनाैं एेन संशाेधन गर्नेगरी ५ वटा अध्यादेश ल्याइएकाे छ, पछिल्लाे ३५ वर्षमा नेपाली कांग्रेसले १२ पटक प्रधानमन्त्री चलाएकाे देखिन्छ, एमालेले ७ पटक प्रधानमन्त्री चलाएकाे देखिन्छ, ३५ वर्ष शासन गरेपछि आज आएर देशकाे विकास ६ दिन ढिला भयाे भनेर अध्यादेश ल्याउनुभएकाे हाे ? ६ दिनअघि अध्यादेश ल्याएर चमत्कार गर्न खाेज्नुभएकाे हाे ? सय मुसा खाएर बिरालाे हज गर्न गयाे भन्ने उखान हामीले सुनेका छाैं, तपाइँहरु पनि अब हाजी बन्न खाेज्नुभएकाे हाे ? रातारात चाेर बाटाेबाट अध्यादेशले भन्छ तपाइँहरुकाे बाटाे सही छैन'- प्रचण्डले भन्नुभयाे ।
दुई तिहाइकाे कुरा गरेर अध्यादेशबाट शासन चलाउन खाेज्नु सार्वभाैम संसद्काे अपमान भएकाे उहाँले बताउनुभयाे ।
स्वार्थ समूहलाई पाेस्नका लागि अध्यादेश ल्याएकाे भनेर तपाइँहरुलाई किन आराेपित नगर्ने भन्ने प्रश्न प्रचण्डले गर्नुभयाे । संसद्मा विचाराधीन अध्यादेश फिर्ता नलिइ किन अध्यादेश ल्याइयाे भन्ने प्रश्न पनि उहाँले गर्नुभयाे । कार्यापालिकाले सबै गर्ने भए व्यवस्थापिका किन चाहियाे भन्ने प्रश्न पनि प्रचण्डले गर्नुभयाे ।
प्रमुख प्रतिपक्षका रुपमा सदनलाई गति दिन प्रतिबद्ध रहेकाे उहाँले बताउनुभयाे ।
नागरिकलाई एउटा जिल्लाबाट अर्काे जिल्ला दाैडाएर मुद्दा चलाइएकाे समेत प्रचण्डले बताउनुभयाे ।
