काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अप्राकृतिक, असंवैधानिक र अपारदर्शी भएकाे आराेप लगाउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा समय लिएर बाेल्दै अध्यक्ष प्रचण्डले याे सरकार आफ्नै बाेझले ढल्ने बताउनुभयाे । आफूले अहिलेकाे सरकार ढाल्छु भनेर नभनेकाे उहाँले दाबी गर्नुभयाे ।
'तपाइँहरुकाे सत्ताकाे खेलमा हामी छैनाैं, भावुकतामा भनेकाे हाेइन, हामी जनतातिर फर्कियाैं, शहीदका सपनातिर फर्कियाैं, तपाइँहरुसँगकाे संगतमा लागेकाे धुलाेमैलाे सरेकाे थियाे त्याे टकटकाउँदैछाैं, तपाइँ २ दलबीच विश्वास भएकाे भए समयमै पद छाेड्छु शेरबहादुरजीलाई भनेर प्रधानमन्त्रीले भनिरहनुपर्दैन, मैले भनेकाे थिएँ - याे सरकार प्राकृतिक छैन, संवैधानिक छैन, पारदर्शी छैन, आफ्नै बाेझले ढल्छ, मैले ढाल्छु भनेकाे छैन, त्यसैले प्रधानमन्त्री र नेपाली कांग्रेसका नेताकाे कुर्सी मिलाइराख्नुपर्दैन, यति दिनमा छाेड्छु भनेर भन्नुपर्दैन, ०८४ सम्म किन त्यसपछि पनि जानुस् म भन्छु'- प्रचण्डले भन्नुभयाे ।
भ्रष्टाचार काण्डमा आफ्नालाई चाेख्याउने र मिलाउने काम भएकाे आराेप उहाँले बताउनुभयाे । सरकारले आफ्ना सांसद्लाई अपराधीलाई चाेख्याउने सुनपानी बनाइरहेकाे गम्भीर आराेप पनि प्रचण्डले लगाउनुभयाे ।
आफू नेतृत्वकाे सरकारले भ्रष्टाचारका फाइल खाेलेकाे र फेरि खाेल्ने दाबी पनि उहाँले गर्नुभयाे ।
हालै सम्पन्न स्थानीय तह उपचुनावमा गठबन्धन गर्दैनाैं भनेर नेकपा एमाले र नेपाली कांग्रेसले गठबन्धन गरेका प्रचण्डले बताउनुभयाे । एमाले र कांग्रेसले आफ्नाे चुनाव चिन्ह भाडामा दिएकाे उहाँले बताउनुभयाे । 'तपाइँहरुले गठबन्धन मात्र गर्नुभयाे, आफ्नाे चुनाव चिन्ह भाडामा दिनुभयाे'- प्रचण्डले भन्नुभयाे ।
आगामी दिनमा बहुमत ल्याएर सरकार बनाउने तर अहिले सरकारकाे खेलमा माओवादी नलाग्ने उहाँले बताउनुभयाे । 'आफ्नै खुट्टामा टेकेर सरकार बनउँछाैं, तर अहिले सरकारकाे खेलमा छैनाैं'- प्रचण्डले भन्नुभयाे ।
सरकारले ल्याएका अध्यादेशका प्रक्रिया र नियतमा पनि आफूहरुकाे शंका रहेकाे उहाँले बताउनुभयाे ।
अहिलेकाे सरकारले देशकाे हित अनुकूल परराष्ट्र सम्बन्ध अघि बढाउन नसकेकाे आराेप प्रचण्डले लगाउनुभयाे । मिटरब्याजसम्बन्धी समस्या समाधान राेकिएका, सहकारी पीडितका पीडा सम्बाेधन गर्नुकाे सट्टा सहकारी ठगलाई उन्मुक्ति दिनेगरी सरकारले अध्यादेश ल्याएकाे उहाँले बताउनुभयाे ।
मुकुम्लुङ(पाथिभरा)मा स्थानीयमाथि वार्ताको बाटो छाडेर दमन गरेको आराेप समेत प्रचण्डले लगाउनुभयाे ।
