काठमाडौं । प्रतिनिधि सभामा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरङ्कुश सोचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै दाहालले सरकाले राजनीतिक प्रतिशोध लिन विभिन्न ऐन ल्याएको बताउनुभयो । ‘राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ, अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र सङ्कुचित गर्न खोजिँदै छ’, उहाँले भन्नुभयो ।
सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराउने गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘यो सत्ताको घमण्ड हो कि, जनतासँग डर हो ?’ उहाँले प्रश्न गर्नुभयो ।
पाथीभरा केबलकारको विवादमा जनतामाथि गोली चलाइएकोमा आपत्ति जनाउँदै उहाँले पाथीभरा र मुक्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको उल्टो बाटो अपनाएको बताउनुभयो ।
सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेहरूलाई थुन्ने र मुद्दा चलाउने काम भएको भन्दै उहाँले आलोचना गर्नुभयो । सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रुपमा नै नियन्त्रण गर्न खोज्नु निरङ्कुश सोच भएको उहाँको भनाइ छ ।
