काठमाडाैं । नेपाली कांग्रेसका सांसद् डा. प्रकाशशरण महतले प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल प्रचण्डकाे अभिव्यक्ति सरकार बाहिर हुँदाकाे छटपटी भएकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् महतले कांग्रेस र एमाले जाेसँग मिलेपनि प्रचण्डलाई प्रधानमन्त्री पद चाहिने गरेकाे र अहिले त्यसाे नभएकाले उहाँले सरकारकाे आलाेचना गरेकाे बताउनुभयाे ।
आफू भन्दा अघि प्रतिनिधि सभा बाेल्नुभएका प्रचण्डले प्रतिपक्षीले बाेल्ने भाषा मात्र नभइ पदमा नहुनुकाे पीडा पनि पाेखेकाे उहाँले बताउनुभयाे । 'उहाँकाे सम्पूर्ण अभिव्यक्ति अवश्य पनि विपक्षी दलमा बसेपछि विपक्षी दलकाे नेताले सत्तापक्षले आलाेचना गर्छन् त्याे अस्वभाविक रुपमा लिएका छैनाैं, तथापी जुन बुँदागत रुपमा उहाँले आफूलाई प्रस्तुत गर्नुभएकाे छ, त्यहाँ खाली विपक्षीकाे धर्म निर्वाह गर्ने भन्दा पनि कांग्रेसँग सहकार्य गरेपनि एमालेसँग सहकार्य गरेपनि प्रधानमन्त्री पद प्रचण्डकै हुन्छ प्रचण्ड भन्दा बाहिर जाँदैन भन्ने जुन मानसिकतामा उहाँ हुनुहुन्थ्याे त्याे परिस्थिति समाप्त भएकाे हुनाले उहाँका धेरै अभिव्यक्ति त्यसबाट अभिप्रेरित भएर आएकाे मैले महशुस गरेँ'- सांसद् महतले भन्नुभयाे ।
एकदलीय व्यवस्था स्थापित गर्ने मनसायले प्रचण्डले युद्ध लड्नुभएकाे भन्दै उहाँले कांग्रेस र एमाले लगायत दलका कारण बहुदलीय प्रतिष्पर्धात्मक व्यवस्थामा आएकाे कुरा नभुल्न प्रचण्डलाई सुझाव दिनुभयाे ।
परिवर्तनकाे श्रेय प्रचण्डले लिन नमिल्ने सांसद् महतले बताउनुभयाे । प्रचण्डले उठाएका विषय र लगाएका आराेपकाे जवाफ प्रधानमन्त्री र मन्त्रीहरुले दिने पनि उहाँले बताउनुभयाे ।
आर्थिक स्थिति मैले साेचेजस्ताे भएन र अर्थमन्त्रीले सहयाेग गरेन भनेर हिजाे आफूलाई आराेप लगाउने प्रचण्डले सत्ता बाहिर पुगेपछि आज आर्थिक उपलब्धि भए भनेर सुनाउनुभएकाे सांसद् महतले बताउनुभयाे ।
प्रचण्डले अध्यादेशकाे विराेध गर्नुकाे औचित्य नरहेकाे उहाँले बताउनुभयाे ।
आर्थिक रुपान्तरणमा सरकारले ध्यान दिनुपर्ने सांसद् महतले बताउनुभयाे । अध्यादेश ल्याएकै कारण विराेध गर्नुपर्छ भन्ने कुरा उपयुक्त नहुने सांसद् महतले बताउनुभयाे ।
आर्थिक रुपमा सहजीकरण गर्न अध्यादेश आएका भन्दै उहाँले याे स्वागतयाेग्य भएकाे बताउनुभयाे । ती अध्यादेश चाँडै नै संसद्बाट पारित गर्नुपर्ने सांसद् महतले बताउनुभयाे ।
