काठमाडाैं । नेकपा एमालेका सांसद् रघुजी पन्तले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सदनमा कुण्ठा व्यक्त गरेकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् पन्तले संसद् कुण्ठा अभिव्यक्त गर्ने ठाउँ नभएकाे बताउनुभयाे ।
प्रतिपक्षी नेताले संसद्मा तथ्य, तर्क र आधारहीन आलाेचना गर्नु गलत भएकाे उहाँले बताउनुभयाे । 'संसद्मा सत्ता या प्रतिपक्ष जुन नेताले बाेलेपनि देशश बाेलाेस्, जनताकाे भावना व्यक्त हाेस् नेपालीले गर्व गराेस्'- सांसद् पन्तले भन्नुभयाे
सत्य र तथ्यसँग प्रचण्ड र माओवादीकाे भेट कहिल्यै नहुने समेत उहाँले बताउनुभयाे । सांसद् पन्तले भन्नुभयाे - 'जहाँ सत्य छ त्यहाँ प्रचण्ड र माओवादी पार्टी छैन, जहाँ तथ्य छ त्यहाँ प्रचण्ड र माओवादी पार्टी छैन, जहाँ बहुसंख्यक जनताकाे आकांक्षा छ, त्यहाँ माओवादी छैन, भएदेखि मुलुककाे अर्थतन्त्र विकासका लागि, मुलुककाे आर्थिक उत्थानका लागि, मुलुकमा उद्याेग धन्दा बढाेस् भनी ल्याएकाे अध्यादेशकाे कुन चाहिँ मुद्दामा विराेध गर्ने ठाउँ छ ? गराैं छलफल ।'
उद्याेगपती र युवाले स्वागत गर्दा प्रचण्डले अध्यादेशकाे विराेध गर्नुभएकाे उहाँले बताउनुभयाे । अध्यादेशकाे विराेध गर्दा प्रचण्डले कुन चाहिँ दफा गलत छ भनेर तथ्य दिन नसकेकाे सांसद् पन्तले बताउनुभयाे ।
अध्यादेशले मुलुककाे अर्थतन्त्रलाई अगाडि बढाउने, मुलुककाे भविष्यलाई अगाडि बढाउने मुलुकबाट बाहिरन लागेका युवालाई यही नेपाली माटाेमा तिम्राे सपना फुल्छ फल्छ भनेर बाटाे देखाउने उहाँले बताउनुभयाे ।
अध्यादेशलाई फराकिलाे ढंगले हेर्न प्रचण्डलाई सुझाव दिँदै उहाँले तथ्यहीन कुरा गरेर मुलुक अगाडि नजाने बताउनुभयाे ।
