काठमाडौं । सांसद्हरुले स्वर्गद्वारी गुठी पीडितका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद्हरुले स्वर्गद्वारी गुठी पीडितका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बैठकको आकस्मिक समयमा माओवादी केन्द्रकी सांसद् रेखा शर्माले गुठीसम्बन्धी कानुन बन्न नसक्दा नागरिकहरु समस्यामा परेका बताउनुभयाे । नेपालकाे संविधानमा गुठीसम्बन्धी संसद्ले आवश्यक कानुन बनाउने, कृषि र भूमि सुधार सम्बन्धी नीति र माैलिक हकमा पनि प्रत्येक नागरिकलाई आवासकाे हककाे व्यवस्था रहेकाे उहाँले स्मरण गर्नुभयाे । संविधान जारी भएकाे लामाे समय बित्दापनि गुठी सम्बन्धी कानुन नबन्दा माेही किसानहरु अत्यन्तै ठूलाे मर्कामा परेका सांसद् शर्माले बताउनुभयाे । स्वर्गद्वारी गुठी पीडितहरु आइतबारदेखि माइतीघरमा धर्नामा बसिरहेका, धर्नामा बस्दा बिरामी परेर अस्पताल भर्ना भएका भन्दै उहाँले सरकारले भने उनीहरुकाे बेवास्ता गरेकाे बताउनुभयाे । उनीहरुले मुख्य ३ वटा माग राखेका भन्दै ती माग पूरा गर्न सरकार गम्भीर हुनुपर्ने सांसद् शर्माले बताउनुभयाे ।
बैठककाे आकस्मिक समयमा बाेल्दै रास्वपाका सांसद् अशोककुमार चौधरीलेले स्वर्गद्वारी गुठीका मोही किसानका जायज माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सरकारसँग सम्झाैता भइसकेकाे लामाे समय बितिसक्दा पनि कार्यान्वयन नहुनु दु:खद भएकाे बताउनुभयाे ।
एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणी चौधरीले एक हप्ता भइसक्दा पनि गुठी पीडितका कुरा सरकारले नसुनेको र आन्दोलनरत पीडित बिरामी पर्न थालेको बताउनुभयो ।
माओवादीकी सांसद् नारायणी शर्माले पनि स्वर्गद्वारी गुठी पीडितसँग तत्काल वार्ता गरेर माग सम्बाेधन गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
