काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् निशा डाँगीले डिजिटल भुक्तानीमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् डाँगीले सरकारले विद्युतीय काराेबारलाई प्राेत्साहन गर्ने भनिरहेपनि भनेअनुसारकाे काम नगरेकाे बताउनुभयाे ।
डिजिटल भुक्तानी गर्दा भ्याटसहित तिर्नुपर्ने भएको कारण डिजिटल भुक्तानी गर्न आम नागरिक निरुत्साहित भइरहेको उहाँले बताउनुभयाे । 'यदि सरकारले साच्चिक्कै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने हो भने कर कटौती गर्दै निःशुल्क भुक्तानी प्रणालीकाे विकास गर्न आवश्यक छ, त्यसैले म सभामुखमार्फत नेपाल सरकार र अर्थ मन्त्रालयलाई तत्कालै नीति परिवर्तन गरेर हुन्छ कि ? राष्ट्रिय भुक्तानी प्रणालीको स्थापना गरेर हुन्छ, हाल भएका पेमेन्ट गेटवेजलाई समेत मर्का नपर्नेगरी डिजिटल ट्रान्जेक्सन निशुल्क बनाउन आजैबाट काम सुरु गर्नका लागि गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।'
