काठमाडौं । प्रतिनिधि सभा सदस्य पदम गिरीले सरकारले ल्याएको अध्यादेश जनताको पक्षमा रहेको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै गिरीले यसले जनता र उद्योगीलाई उत्साहित बनाएको बताउनुभयो । उहाँले राष्ट्र जनताको पक्षमा गरिएको काममा पनि रोष्टरमा उभिएर भ्रम छर्ने काम नगर्न प्रतिपक्षीलाई आग्रह गर्नुभयो । ‘अहिले सरकारले ल्याएको अध्यादेश बदनियतले ल्यायो, स्वार्थ समूहको हितमा ल्यायो, नेपाली जनताको हितमा छैन भनेर उहाँले भनिरहनुभएको छ, योभन्दा विडम्बना अरू के हुन्छ ? अध्यादेश जारी भइसकेपछि व्यापारी तथा उद्योगीहरूले खुला रूपले स्वागत गर्नुभएको छ, जनता र आमउद्योगी खुसी छन् भने प्रतिपक्षी दुःखी हुनुपर्ने कारण के हो ?’, उहाँले प्रश्न गर्नुभयो ।
अध्यादेश आएपछि आइटी क्षेत्रमा लागेका युवा अब नेपालमा मात्र होइन, विदेशमा समेत शाखा विस्तार गरेर व्यापारमार्फत मनग्य आम्दानी गर्न सकिने उहाँले बताउनुभयो ।
सत्तामा हुँदा एक खालले प्रस्तुत हुने र सत्ता बाहिर गएपछि अर्कै किसिमले प्रस्तुत हुनु द्वैध चरित्र नेपाली राजनीतिमा देखिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । यो प्रवृत्ति राजनीतिमा समेत घातक हुने गिरीले चिन्ता व्यक्त गर्नुभयो ।
संसदमा प्रमुख प्रतिपक्ष दलको नेताले भ्रमको तुवाँलो छर्ने काम गर्नुभएको उहाँको आरोप छ । सरकार र प्रधानमन्त्री विरुद्ध उहाँले तल उत्रिएर अभिव्यक्ति दिनुभएको भन्दै गिरीले आलोचना गर्नुभयो ।
