काठमाडौं । प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले जनताको आवाज सुन्न नचाहेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै पाण्डेले सरकारले संसदलाई अपहेलना गरेर जनमतको अनादर गरेको बताउनुभयो । उहाँले सरकारले आफ्नो इच्छा अनुसार संसद् चलाउन खोजेको आरोप लगाउनुभयो । ‘संसद्ले सरकारले जहिले जे जे भन्यो त्यही अनुसार चल्ने हो कि ? जनताका प्रतिनिधि भएको संस्थाले बनाएको कार्यसूची सरकारले पनि पालना गर्नुपर्ने होइन ?’, उहाँले भन्नुभयो ।
सरकाले समय छैन भनेर संसद्को कार्यसूचीमा राखिएका विषय हटाउन नहुने उहाँको धारणा छ । ‘हामीले छलफल गरेरै आज भ्रष्टाचार विधेयक पारित गर्ने कार्यसूची थियो तर, आज सरकारले समय छैन भनेर अन्तिम समयमा कार्यसूचीबाट हटाइयो’, उहाँले भन्नुभयो ।
