काठमाडौं । सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ः१५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ र ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गर्ने कार्यसूची रहेको छ ।
यसै गरी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यस्तै, ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिने कार्यसूची छ ।
