काठमाडौं । प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्रायोजित मिडिया र सांसदले प्रधानमन्त्री र सांसदहरूको अपमान गर्ने काम गरेका बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले प्रतिनिधि सभा बैठकमा एउटा सांसदले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न कसैबाट प्रायोजित र आक्षेप लगाउनु खालको हुनु दुखद भएको बताउनुभयो । सभा बाहिर पनि पत्रकारले प्रधानमन्त्री, मन्त्री र सांसदलाई कस्ता प्रश्न सोध्न मिल्ने भन्ने कुराको मापदण्ड तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले मिडिया व्यवस्थापनको विषयमा संसद् सचिवालयलाई ध्यानाकर्षण गराउनुभयो । संसद् भवन परिसरमा कसैबाट परिचालित भएर प्रधानमन्त्री र सांसदहरूलाई प्रश्न गर्न पाइन्छ कि पाइँदैन ? भन्दै प्रश्न उहाँले प्रश्न गर्नुभयो । ‘म आफैँले भोगेको र हिजो प्रधानमन्त्रीलाई लक्षित गरेर सोधिएको प्रश्नप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, प्रधानमन्त्रीज्यू बाहिरिँदा तपाईँ हिटलर हो ? भन्ने प्रश्न सोधियो, नेपालको सांसदले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ ? उहाँले प्रश्न गर्नुभयो ।
संसद् सचिवालयको अनुमति लिएर संसद् भित्र आएका पत्रकारले संविधान, कानुन, पत्रकार आचारसंहिता पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सामाजिक शिष्टाचारलाई समेत ध्यान नदिई पत्रकारहरूले गैर जिम्मेवार प्रश्न गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । आफूलाई समेत पत्रकारहरूले अपमानित गर्ने गरी प्रश्न गरेका थापाले सुनाउनुभयो । आफूलाई तपाईँ हनुमान हो भन्दै पत्रकारले प्रश्न गरेको प्रति थापाले आपत्ति जनाउनुभयो । 'मलाई नै एक जना पत्रकारले बुम तेर्स्याएर तपाईँ हनुमान हो भनेर प्रश्न गर्नुभयो, सांसदहरूलाई यस्ता प्रश्न गर्न पाइन्छ कि पाइँदैन ?'
