काठमाडौं । प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले नेपाल प्रहरीलाई व्यवस्थित बनाएर अघि बढाउनु पर्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक माथिको सामान्य छलफलमा बोल्दै भट्टराईले परिवर्तित अवस्था अनुसार प्रहरीलाई संघीय प्रणालीमा अघि बढाउनु पर्ने बताउनुभयो । ‘सङ्घीयता कार्यान्वयनसँग समेत जोडिएको यो विधेयकको महत्त्व छ’, उहाँले भन्नुभयो ।
नेपाल प्रहरी नेपालको आन्तरिक सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धान र अभियोजन लगायतका काममा क्रियाशील रहेको बताउँदै भट्टराईले अपराध नियन्त्रणमा नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरको योग्यता र क्षमता प्रकट गर्दै आएको कुरा स्मरण गराउनुभयो । विगतका आन्तरिक द्वन्द्वका समयमा समेत नेपाल प्रहरीले संयमताका साथ काम गरेको भट्टराईले स्पष्ट पार्नुभयो ।
प्रहरीको कामलाई थप पारदर्शी बनाई प्रहरी संगठनलाई व्यावसायिक संगठनको रूपमा विकास गर्ने कुरामा ऐनलाई अझ परिमार्जित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी विशेष अदालतको अक्षमा कम्तीमा उच्च अदालतको न्यायाधीश सरहको व्यवस्था गर्न पनि उहाँले सुझाव दिनुभयो । यसो गर्यो भने प्रहरी भित्र निष्पक्ष न्याय सम्पादनको काम हुने उहाँको धारणा छ ।
