काठमाडौं । प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले सरकार काम गर्न नसकेको भन्दै आलोचना गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा सरकारले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । काठमाडौं लगायत धेरै स्थानीय तहमा सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकेको भन्दै उहाँले सरकारले काम गर्न नसकेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत नजाँदा कर्मचारी तलब पाउनबाट समेत वञ्चित भएका उहाँले बताउनुभयो । ‘प्रमुख प्रशासकीय अधिकृत सरकारले पठाएको छैन, शिक्षक, कर्मचारीदेखि काठमाडौंमा सरसफाइ गर्ने कर्मचारीले तलब खान पाएका छैनन्, सरकारलाई त्यसको पाप लाग्ला’, उहाँले भन्नुभयो ।
शाहीले सरकार नयाँ शक्तिसँग डराएको बताउँदै त्यस्तो डर भए अबदेखि चुनाव नगराई आफ्ना आसेपासेलाई भर्ना गर्न शाहीले आग्रह गर्नुभयो ।
