काठमाडौं । प्रतिनिधि सभा सदस्य रेखा शर्माले लोकतन्त्रमा हार र जितलाई सहज रूपमा स्विकार्न सक्नु पर्ने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्माले आफ्नो निर्वाचन क्षेत्रमा आफूसँग निर्वाचन हारेका एमाले उम्मेदवारले अझै पनि हार स्विकार्न नसकेका बताउनुभयो । दाङ स्थित आफ्नो निर्वाचन क्षेत्रमा गएर प्रधानमन्त्रीले आफू र आफ्ना मतदाताको अपमान गर्नुभएको भन्दै शर्माले आपत्ति जनाउनुभयो ।
प्रधानमन्त्रीले प्रश्नोत्तर कार्यक्रममा समेत सांसदले सोधेको प्रश्न जवाफ नदिएर संसद्को अपमान गर्नुभएको शर्माले बताउनुभयो । ‘हामीले देखिरहेका छौँ, संसदमाथि सरकारको निरन्तर बलमिच्याई भइरहेको छ’, उहाँले भन्नुभयो ।
संसदीय समितिबाट पारित विधेयक समेत मन्त्रीले संशोधन गरेर संसद्को अपमान गर्ने काम गरिएको उहाँले बताउनुभयो । संसदमा विचाराधीन विधेयक फिर्ता गरी अध्यादेश जारी गएको भन्दै उहाँले आपत्ति प्रकट गर्नुभयो ।
