काठमाडौं । प्रतिनिधि सभा सदस्य हितराज पाण्डेले राम्रो काम गर्ने मान्छेलाई सरकारले खेदेको आरोप लगाउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बाेल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङलाई राम्रो काम गरेकै कारण सरकारले लगातार खेदेको उहाँले बताउनुभयो । कूलमान घिसिङलाई सरकारले निरन्तर स्पष्टीकरण माग्ने र मूल्याङ्कनमा शून्य अङ्क दिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । ठिक ढङ्गले विद्युत् प्राधिकरणमा काम गरिहरेको बेलामा शून्य अङ्क दिइएको भन्ने छ, यो के हो ?’, उहाँले प्रश्न गर्नुभयो ।
नेपाल विद्युत् प्राधिकरणलाई एउटा उचाइमा पुर्याउने काम कूलमानले गर्नुभएको उहाँको दाबी छ । नेपाललाई लोडसेडिङ मुक्त गराउने मात्र होइन विदेशमा समेत विद्युत् बेच्ने काम घिसिङले गर्नुभएको उहाँको भनाई छ ।
सबै संस्थालाई नाफामा लैजाने काम गर्नुपर्नेमा संस्थालाई नाफामा लैजाने एमडीलाई शून्य अङ्क दिनुले सरकारको नियतमा खोट भएको उहाँले बताउनुभयो । यस विषयमा सरकारलाई रुलिङ गर्न पनि उहाँले माग गर्नुभयो ।
