काठमाडौं । प्रतिनिधि सभा सदस्य सुनिता बरालले सुन्दर इतिहास लेख्ने काममा सरिक हुन सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै बरालले सरकारले ल्याएका अध्यादेश देशलाई सुन्दर बनाउने हिसाबले आएकाले त्यसमा सहभागी हुन राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो । नेपालका राजनीतिक दलले बारम्बार सुन्दर इतिहास रच्ने काम गरेका बताउँदै बरालले यस पटक पनि त्यो इतिहास रच्ने अवसर प्राप्त भएको बताउनुभयो । त्यसको लागि सरकारले ल्याएका अध्यादेशहरू सर्वसम्मत रूपमा पास गर्न उहाँले आग्रह गर्नुभयो ।
सबै राजनीतिक दलले निर्वाचनमा जाँदा सुन्दर घोषणापत्र बनाउने गरेका बताउँदै उहाँले राजनीतिक दलका घोषणापत्रमा लेखिएका सहज सेवा प्रवाह, लगानीको वातावरण सिर्जना, सुशासन स्थापनाका लागि सरकारले अध्यादेश ल्याएकोले त्यसलाई पास गरेर सुन्दर इतिहास लेख्न उहाँले आग्रह गर्नुभयो । ‘हामीले इतिहास लेख्ने यो अवसर प्राप्त गरेको छौँ’, उहाँले भन्नुभयो ।
