काठमाडौँ । प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनु नहुने बताउनुभएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै घिसिङलाई सरकारले हटाए सडक र सदनबाट आन्दोलन शाहीले चेतावनी दिनुभयो । घिसिङले अँध्यारो नेपाललाई उज्यालो नेपाल बनाउनुभएको शाहीको दाबी छ ।
उहाँले घिसिङलाई हटाउने प्रपञ्च गरिएको भन्दै हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलिने बताउनुभयो । कूलमानलाई कार्यसम्पादनमा शून्य अङ्क दिएर अपमान गरिएको उहाँले बताउनुभयो । ‘फेल हुनेलाई पास, पास हुनेलाई फेल कस्तो हो यो ? कुलमान घिसिङलाई हटाउने जुन प्रपञ्च गरिँदै छ र मन्त्रिपरिषद्ले निर्णय हुँदै छ भन्ने सुन्नमा आएको छ, यदि कुलमानलाई हटाइयो भने, नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदन दुबैबाट आवाज उठ्छ’, उहाँले भन्नुभयो ।
सरकारले अध्यादेश ल्याएर विधिको शासन उल्लङ्घन गरेको शाहीले बताउनुभयो । अध्यादेश ल्याउनु संसद्को अपमान भएको उहाँको धारणा छ ।
