काठमाडौं । प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले अमेरिकाले नेपालमा दिएको रकम दुरुपयोग भएको भन्ने विषयमा नेपाल सरकार बोल्नु पर्ने बताउनुभयो ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै खतिवडाले अमेरिकाबाट कति रकम नेपाल आएको हो र कसकसले प्रयोग गरे भन्ने विषयमा सरकारको धारणा आउनु पर्ने बताउनुभयो । अमेरिकाको रकम दुरुपयोग भयो भन्ने विषयले नेपालकै बदनाम भएको उहाँले बताउनुभयो ।
अमेरिकाले नेपाली लगायत अमेरिकामा रहेका मानिसहरूलाई समात्दै अमानवीय तरिकाले देश निकाला गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘अमानविय व्यवहार बन्द गरियोस्, विश्वव्यापी मानव अधिकारका मूल्य भित्र रहेर मानवीय व्यवहार गरियोस्’, उहाँले भन्नुभयो ।
पत्रकारले प्रश्न गरेकै भरमा उनीहरूको प्रवेश खोस्न नमिल्ने खतिवडाले बताउनुभयो । तर पत्रकारले पनि मर्यादित प्रश्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
