काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले कार्यसम्पादन मूल्याङ्कन फाराम नै नभरेको कारण शून्य अङ्क पाएको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री खड्काले पुसमा एकैचोटी मेरो यति अङ्क आएको छ भनि कुलमानले मन्त्रालयमा नम्बर बुझाएको बताउनुभयो । जाँचमा भाग नै नलिने विद्यार्थीले आफूले आफैँलाई नम्बर दिन मिल्छ कि मिल्दैन भनेर उहाँले प्रश्न गर्नुभयो । ‘विद्यार्थी जाँचमा नै अनुपस्थित भएपछि कति नम्बर पाउँछ ? मलाई भनिदिनु पर्यो’, उहाँले भन्नुभयो ।
कूलमानले उठ्न बाँकी बक्यौता महसुललाई समेत नेपाल विद्युत् प्राधिकरणको नाफा भनेर जोडेको उहाँले सुनाउनुभयो । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेका आयोजनामा कति खर्च भयो भन्ने अभिलेख समेत प्राधिकरणसँग नरहेको उहाँले बताउनुभयो । कूलमानले बोलेको भरमा विद्युत् प्राधिकरण नाफामा छ भनेर मानिदिन सकिने स्थिति नभएको उहाँले स्पष्ट पार्नुभयो ।
कुलमानले सरकारका कुनै पनि अनुरोधलाई नटेरेका खड्काले बताउनुभयो । कूलमानले प्राधिकरणको नाफा यकिन गर्न नै नदिएको उहाँको भनाइ छ ।
कूलमानले देशलाई लोडसेडिङ मुक्त गरेको भन्नेलाई भारतबाट ४ सय ५० मेगावाट विद्युत् ल्याएर नेपाललाई लोडसेडिङ मुक्त गरिएको कुरा नबिर्सन आग्रह गर्नुभयो । केपी प्रधानमन्त्री हुँदा भारतको बिजुली किन्ने कुराको निर्णय भएको उहाँले स्मरण गराउनुभयो । कूलमानले कसैका कुरा पनि नसुन्ने र सरकार र मन्त्रालयलाई नटेरेका कारण प्रश्न सोधिएको उहाँले बताउनुभयो । ‘केही पनि नमान्ने, कसैलाई सन्नै नपर्ने, यस्तो पनि हुन्छ र ?’, उहाँले भन्नुभयो ।
