काठमाडौं । प्रतिनिधि सभा सदस्य डा।अमरेशकुमार सिंहले रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहले रौतहटमा हिंसा भड्काउने प्रयास गरेका बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले मेयर साहले सरकारी स्वामित्वमा आउनुपर्ने जग्गामा चलखेल गरेको कारण गौरमा आगो बलेको बताउनुभयो । गौरको मिलको जग्गामा साहले आँखा लगाएको उहाँले आरोप लगाउनुभयो । ‘अहिले रौतहटको सदरमुकाम गौरमा आगो बलिरहेको छ , आगो बल्नुको कारण त्यहाँका मेयर हुन्, जो पहिला नामुद तस्कर थिए र छन्, हाम्रो राजनीतिले तस्कर, बिचौलियालाई नेता बनाउन खोज्यो र उसले आफ्नो पुरानो पेसा कहिले पनि छाड्न चाहेन’, उहाँले भन्नुभयो ।
२०१० सालमा आजभन्दा ७१ वर्ष पहिला भारतीय नागरिकले गौरमा राइस मिल खोलेका उहाँले बताउनुभयो । सो मिलको गौरमा ६ बिघा जग्गा रहेको उहाँले सुनाउनुभयो । ‘ती भारतीय नागरिक निःसन्तान थिए, पछि यही मेयरले २०५७ सालमा मिलको पार्टपुर्जा बेच्न लाग्दा प्रहरीले समात्यो, अहिले त्यही मेयरको मिलेमतोमा नक्कली भारतीयलाई खडा गरेर पर्साबाट नागरिकता दिलाएर, मोहियानी हक कायम गराएर, जग्गामा चलखेल गर्न खोजिरहेको छ’, उहाँले भन्नुभयो ।
सो मिलको जग्गा नगरप्रमुखको मिलेमतोमा बिक्री हुन लागेको भन्दै गैरमा स्थानीयले आन्दोलन गरिरहेको छन् । आज मात्रै स्थानीयले सडकमा टायर बालेर विरोध जनाएका थिए ।
