काठमाडौं । प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै केसीले अहिले लाखौँ शिक्षकहरूको प्रतिनिधित्व गर्ने संस्था नेपाल शिक्षक महासंघ आन्दोलनमा रहेको बताउँदै सरकारले यस अघि शिक्षक संगठनहरुसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो । ‘सरकारले निरन्तर सम्झौता गर्ने र त्यो सम्झौतालाई कार्यान्वयन नगर्नु दुःखद र निन्दनीय छ’, उहाँले भन्नुभयो ।
केसीले आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता गर्न सरकारसँग माग गर्नुभयो । वार्तामा बसेर समस्या समाधान गर्न केसीले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा बोल्दै केसीले ज्येष्ठ नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा त्यसबाट उहाँहरूले हैरानी खेप्नु परेको बताउनुभयो । त्यसैले त्यसको विकल्प खोज्न पनि उहाँले सरकारसँग माग गर्नुभयो ।
