काठमाडौं । प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले संविधानको पालना गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै बर्तौलाले संविधानको अवज्ञा गर्नु दण्डनीय काम भएको बताउनुभयो । ‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुने छ, संविधान विपरीत गरिने सबै काम दण्डनीय हुने छन्’, उहाँले भन्नुभयो ।
केही दिन यतादेखि पूर्वराजा ज्ञानेन्द्रको उक्साहट र निर्देशनमा संविधान विपरीतका काम भइरहेकाले ती कार्य दण्डनीय भएका बर्तौलाले बताउनुभयो । उहाँको उक्साहटमा, उहाँको निर्देशनमा समाजमा संविधान विपरीतका कार्यहरू भइरहेका छन्, पञ्चायतकालीन राष्ट्रिय गानहरू गाउने, मुलुकको राष्ट्रिय गानको अवमूल्यन गर्ने, अपमान गर्ने खालका संविधान विपरीतका गतिविधि र क्रियाकलापहरू भइरहेका छन्, यी सबै काम गर्न पूर्वराजा ज्ञानेन्द्र शाहले उक्साइरहेका छन्, उनको स्वयम् आफ्नो उपस्थितिमा यी कार्यहरु गरिरहेका छन्’, उहाँले भन्नुभयो ।
राजावादीले निकालेको र्यालीमा भारतीय जनता पार्टीका नेता उत्तर प्रदेशका मुख्यमन्त्रीको ब्यानर पोष्टर सहित निकाल्नु राष्ट्रियता माथिको आक्रमण भएको बर्तौलाले बताउनुभयो । यसले हाम्रो संविधान बमोजिम राष्ट्रहित विपरीतको कार्य हो, यस्ता कार्यलाई कानुनी दायरमा ल्याउन जरुरी छ ।
उहाँले पूर्वराजा र राजावादीलाई फेरी राजतन्त्र फर्कन्छ भन्ने सपना नदेख्न आग्रह गर्नुभयो । ‘लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुन सक्दैन, सङ्ग्रहालयमा थन्किएको राजतन्त्रलाई फेरी पनि हुकुम प्रमांगीको आधारमा देश चलाउँछु वा चलाउन लगाउँछु भन्ने दिवास्वप्न नदेखे हुन्छ’, उहाँले भन्नुभयो ।
