काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारकै गतिविधिका कारण राजावादीहरू हौसिएका बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै दाहालले वर्षौँसम्म बन्द कोठामा बसेका राजावादीहरू सरकारको अकर्मण्यताको कारण अहिले सडकमा निस्किएका बताउनुभयो । ‘सरकारको विश्वसनीयता सकिएकै देखेर आज पुरातनपन्थी राजतन्त्रवादी हौसिएका छन्, वर्षौँसम्म बन्द कोठामा समेत राजतन्त्र पुरस्थापनाको सपना देख्न डराएकाहरू आज सडकमै आएका छन् र सडकबाटै राजतन्त्र पुरस्थापनाको चुनौती दिन थालेका छन्’, उहाँले भन्नुभयो ।
राजावादीहरू हौसिनुको पछाडि संगठित शक्ति रहेको उहाँले बताउनुभयो । ‘राजावादीहरूको यो चहलपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ, यसमा देश भित्र र बाहिरका चलखेल पनि मिसिएका छन्’, उहाँले भन्नुभयो ।
जनताको बलिदान र लामो संघर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउने कोसिस भएको भन्दै दाहालले अ सरकारका गलत क्रियाकलाप र प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नु पर्ने अवस्था आएको बताउनुभयो । ‘जनताको बलिदान र लामो संघर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउने कोसिस हुँदैछ, हामीले अब एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्का तिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नु पर्ने अवस्था सिर्जना भएको छ, सरकारको बेथिति र असफलताले जनतामा व्यवस्थाप्रति नै निराशता बढाउँदै लगेको छ, सरकारमा बसेका साथीहरूलाई मेरो प्रश्न छ, हरेक वर्ग र समुदायले अब आन्दोलन बाहेक अरू विकल्प नै देख्न छाडेको हो ?’, उहाँले प्रश्न गर्नुभयो ।
नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त व्यवस्था उल्टाउने सपना नदेख्न पनि उहाँले राजावादीलाई आग्रह गर्नुभयो । व्यवस्थाको संरक्षणको लागि जनताहरू उठ्ने कुरामा सचेत हुन उहाँले चुनौती दिनुभयो ।
